Section 29E
आतङ्ककारी व्यक्ति, समूह वा संगठन सम्बन्धी सूचनाको प्रवाह
(१) आतङ्कवादी कृयाकलापमा संलग्न व्यक्ति, समूह वा संगठन वा आमविनासका हातहतियारको निर्माण तथा विस्तार वा त्यसमा लगानी गर्ने व्यक्ति, समूह वा संगठनको सम्पत्ति वा कोष रोक्का राख्ने सम्बन्धमा संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्बाट पारित निर्णय बमोजिम सूचीकृत भएका व्यक्ति, समूह वा संगठनको अद्यावधिक सूची परराष्ट्र मन्त्रालयले अविलम्व आफ्नो वेबसाईटमा राखी सोको जानकारी विद्युतीय माध्यम मार्फत गृह मन्त्रालयमा पठाउनु पर्नेछ । (२) गृह मन्त्रालयले उपदफा (१) बमोजिमको सूचीमा रहेको आतङ्ककारी व्यक्ति, समूह वा संगठनको सम्पत्ति वा कोष यस परिच्छेद बमोजिम तत्काल रोक्का राख्ने आदेश जारी गर्नु पर्नेछ । (३) गृह मन्त्रालयले उपदफा (२) र दफा २९च. बमोजिम जारी गरेको आदेश सहितको सूची अविलम्व आफ्नो वेबसाइटमा प्रकाशन गर्नु पर्नेछ । (४) अर्थ मन्त्रालय, नियमनकारी निकाय, सम्बन्धित निकाय, वित्तीय जानकारी इकाई, सूचक संस्था, कानूनी व्यक्ति तथा प्राकृतिक व्यक्तिले यस परिच्छेदको प्रयोजनको लागि उपदफा (१) र (३) बमोजिम प्रकाशित सूची नियमित रुपमा वेबसाइट हेरी त्यस्तो सूचीमा उल्लिखित व्यक्ति, समूह वा संगठनको बारेमा अद्यावधिक जानकारी हासिल गर्नु गराउनु पर्नेछ ।